Sunday, January 20, 2008

फुर्सदको समय

यो लोडसेडिङ्गले पनि कहिलेकाहीँ त फाइदै पो गर्दोरहेछ । हिजो वेलुका ४ वजेदेखि ७ वजेसम्म लोडसेडिङ्ग थियो । त्यसैले छिट्टै घर गएको थिएँ । तोरीमा कीटनाशक औषधी हान्ने वेला भएको रहेछ । त्यो काम गर्ने मान्छे अरु नभएकोले आफैंले गर्नु पर्‍यो । कहिलेकाहीँ घर/खेतीको काम गर्न पनि रमाइलै हुँदोरहेछ ।






दुवै फोटोको लागि छोरी ऋचालाई धन्यवाद ।

Wednesday, January 16, 2008

लेखक बन्ने धुनमा ......... (२)

"तिमीहरुले गाउँ छोडेर गएको छ महिना पनि नपुग्दै मेरो जीवनमा लगातार एउटा न एउटा आँधी आइ नै रहेको छ .... लगातार अठार बर्षसम्म । तिमीहरु यहाँबाट गएको चार महिनापछिको कुनै एउटा दिन मेरी आमा सँधैं झैं दिउँसो बाह्र एक बजेको घाममा त्यो पनि जेठको महिना, एक भारी घाँस बोकेर आइपुग्नु भयो । चर्को घाममा घाँस काटेको र धेरै गह्रौं भारी बोकेर आउँदा अति नै तिर्खा लागेको रहेछ । घर आइपुग्ने वित्तिकै गाग्रीबाट सारेर एक लोटा पानी घट्घट् पिउनु भयो । त्यतिले पनि तिर्खा नमेटिएकोले अरु एक लोटा पानी सार्दै गर्दा त्यहीँ भुक्लुक्क लड्नुभयो र "राज" भनेर चिच्याउनु भयो । म त्यहिँ थिएँ । "के भयो आमा तपाईंलाई" भनेर बोलाउँदा बोलाउँदै आमाले अलिकति रगत वान्ता गर्नुभयो र सँधैको लागि आँखा बन्द गर्नुभयो ।"

"तँलाई थाहै छ प्रकाश, मेरा आमा र बाबामा कति फरक थियो । आकाश र धर्ती बराबर हैन ? आमा दिनरात मेहनत गर्नु हुन्थ्यो, घाँस काट्नु हुन्थ्यो अर्काको लागि, दाउरा खोजेर ल्याउनु हुन्थ्यो अर्काको लागि र जुठा भाँडा माझ्नु हुन्थ्यो त्यो पनि अर्कैको । ती सवै कुरा आमाले किन गर्नु हुन्थ्यो भने आफ्नो परिवाररुपी जहाजको इन्धन भर्न । तर बावा... मेरो बावाको व्यवहार त्यसको ठीक विपरित थियो । ऊ दिनभरी जुवातास खेल्थ्यो र राति भएपछि रक्सी धोकेर आउँथ्यो अनि विना कुनै कसुर मेरी आमालाई र मलाई पिट्थ्यो । रक्सी खाने र जुवातास खेल्ने काममा उसले आमाको रगत पसिनाको कमाइ उडाइरहेको थियो तर त्यसलाई वेवास्ता गर्दै उल्टै आमालाई यातना दिइरहेको थियो ।"

"आमा वितेको दुई महिना वित्दा नवित्दै उसले एउटी आइमाई लिएर आयो जसको एउटा पाँच वर्ष जतिको छोरो पनि थियो । त्यो आइमाईले आफ्नो लोग्ने छोडेर आएकी थिई । खै के देखी त्यसले मेरो बावुमा । उसको लोग्ने त सम्पन्न र इमान्दार थियो रे, गाउँलेहरुले कुरा गरेको मैले सुनेको ।"

"त्यो आइमाई आएपछि त मेरो दुर्दशा नै हुन थाल्यो । मलाई स्कूल जानबाट पनि वञ्चित गरेको थियो मेरो बाबु भनाउँदोले । उसले 'राजसी' ठाँटले मलाई आदेश दिएको थियो - "अवदेखि तँ पढ्न स्कूल होइन, घाँस दाउरा लिन जंगल जानेछस् । तेरी आमाले जे गर्थी अव त्यो काम तेरो भयो ।" भोलिपल्टदेखि मेरो रुटिन नै वदलियो । मैले स्कूल गएर पढ्नुको सट्टा जंगल गएर घाँस दाउरा ल्याउन थालें गाउँघरका ठूलाबडाका लागि । उनीहरुका घरमा नोकर भएर जुठाभाँडा माझ्नेदेखि लिएर यहाँसम्म कि ती घरका स्वास्नीमान्छेका भित्री लुगासमेत मैले धोएको छु ।"
राजका आँखाबाट आँशु तररर वग्छन् । उ भक्कानिन्छ एकछिनसम्म बोल्नै सक्दैन । त्यस्तै प्रकाश त झन सुँक्क सुँक्क नै गर्न थालिसकेछ ।
केही क्षणको विश्रामपछि फेरि राज बोल्न थाल्छ - "त्यस्ता काम गरेर म कति पैसा कमाउँथें त्यो मलाई थाहा थिएन । महिना पुगेपछि मेरो बाबु आएर मेरो मेहेनतको कमाइ लिएर जान्थे जुन पैसाले उनलाई २-४ दिन रक्सी र जुवातासमा डुव्न मद्दत पुग्थ्यो ।"

"मेरा दिनहरु अत्यन्त कष्टकर रुपमा वितिरहेका थिए । तर मैले तँलाई भन्नै पर्ने कुरा के भने बाबुले मलाई स्कूल जानबाट रोके पनि मैले पढ्न भने कहिले पनि छोडिन । म आफ्नो घरमा हुँदा आफ्नै घरमा र अर्काको घरमा बस्दा पनि विहान वेलुका फुर्सदको वेलामा पढ्ने गर्थें । मलाई धेरै पढेर ठूलो मान्छे बन्नु थियो । यो मेरो मात्र नभएर मेरी आमाको पनि चाहना थियो । आमाले मलाई सधैं नै सम्झाउनु हुन्थ्यो, धेरै पढ्नुपर्छ, ठूलो मान्छे बन्नु पर्छ भनेर । मेरो बाबुको र आफ्नै पनि उदाहरण दिँदै भन्नुहुन्थ्यो - मान्छेले पढेन भने तेरो वावु जस्तै रक्स्याहा र जुवाडे हुन्छ । पढेको भए तेरो वावु पनि यस्तो हुने थिएन किनकी उसले पढेको भए जागिर खान्थ्यो या कुनै इलम गर्थ्यो र यी यस्ता खराव काम गर्ने फुर्सद पाउने थिएन । त्यस्तै मैले पनि पढेकी भए आज यसरी यस्ती अर्काकी दासी भएर बाँच्नु पर्ने थिएन । म आफ्नै खुट्टामा उभिन सकेकी हुन्थें, आदि इत्यादि भनेर सम्झाउनु हुन्थ्यो ।"

"मलाई पढ्नु पर्छ भनेर अझ वढि उत्प्रेरकको काम रुद्र सरले गर्नु भएको थियो । रुद्र सर .. मानिसले भगवान छ भनेर मन्दिरमा गएर पूजा गर्छन् । तर मलाई मन्दिरमा भएको ढुङ्गाको भगवानमा एकरत्ती पनि विश्वास छैन । मेरो भगवान त रुद्र सर नै हो । म साँच्चै नै भन्दैछु प्रकाश, संसारमा यदि कुनै भगवान छ भने त्यो रुद्र सर नै हो । उहाँ नभएको भए आज पनि म कुनै ठूलाठालुकहाँ नोकर भएर बसिरहेंको हुन्थें होला । म जुन घरमा नोकर भएर बसेको थिएँ त्यही घरमा उहाँ वस्नु हुन्थ्यो । त्यो घरका केटाकेटीलाई पढाइदिनु हुन्थ्यो । त्यसको सट्टामा उहाँले डेराभाडा र खानामा खर्च गर्नु पर्दैनथ्यो । उहाँले त्यो घरका केटाकेटीलाई पढाइसकेपछि मलाई पढाउनु हुन्थ्यो किनकी मलाई ति केटाकेटीसँगै बसेर पढ्ने अनुमति थिएन । साँच्चै भन्ने हो भने मेरा मालिक मालिक्नी म पढेको देख्न पनि चाहँदैनथिए । कतिपल्ट त रुद्र सरलाई उनीहरुले मलाई नपढाउनु भनेर घुमाउरो भाषामा धम्की नै पनि दिएका थिए । तर उहाँले उनीहरुको कुरालाई हाँसोमा उडाउँदै भन्नुहुन्थ्यो - तपाईहरुलाई थाहा छ ? अहिलेका नामी विद्वान स्वामी प्रपन्नाचार्य पनि पहिला अरुकै घरमा काम गर्न बसेका थिए । यसरी रुद्र सरले अरुको भनाइको पर्वाह नगरी मलाई पढ्नमा मद्दत गरिरहनु भयो । मलाई आवश्यक किताव, कलम, कापी आदि उहाँले नै ल्याइदिनुहुन्थ्यो साथै स्कूलमा बुझाउनु पर्ने शुल्कहरु पनि उहाँले नै तिरिदिनुहुन्थ्यो । अनि मैले उहाँको सहायताले अर्काकै घरमा बसेर पनि राम्रो अंक ल्याएर एस‌.एल.सी. पास गर्न सक्षम भएँ । एस‌.एल.सी. दिने वेलामा रुद्र सरले झन बढि कष्ट खेप्नु भएको छ । घरका मान्छेले भन्नु नभन्नु भनेका थिए तर पनि उहाँले ति सवै कुरालाई त्यत्तिकै पचाइदिनुभएको थियो ।"
"एस.एल.सी.मा प्रथम श्रेणीमा पास गरेको थिएँ, यो कुरा मेरो गाउँभरि तुरुन्तै फैलियो र मेरो बाबुले पनि यो कुरा थाहा पाएछ । एस.एल.सी. को रिजल्ट आउँञ्जेलसम्म पनि म त्यही घरमा थिएँ जुन घरमा पहिले काम गर्न बसेको थिएँ । रिजल्ट भएको पर्सीपल्ट मेरो बाबु त्यहीँ आयो सरासर र मेरो नाम लिएर यता आइज भन्दै चिच्याउन थाल्यो । म गाईवस्तुको काम गर्दै थिएँ गोठमा । बावुले बोलाउन थालेपछि म डराउँदै डराउँदै ऊ भएतिर गएँ ।" क्रमस:

Monday, January 14, 2008

लेखक बन्ने धुनमा ......... (१)

एस‌.एल.सी‌ दिएर रिजल्ट कुर्दै बसेको वेला उपन्यास खुवै पढिन्थ्यो । जासुसी उपन्यास खोजीखोजी पढ्न मन लाग्थ्यो । नेपाली र हिन्दी गरेर झण्डै ३००-४०० उपन्यास पढियो होला । हुन त जासुसी मात्र नभएर सामाजिक, राजनैतिक र ऐतिहासिक सवैखाले नै उपन्यास पढियो होला । उपन्यास पढ्दापढ्दै कहिलेकाहीँ आफैंलाई पनि उपन्यास लेख्न मन लाग्थ्यो । प्रमाणपत्र तह पढ्दा पढ्दै मैले एउटा जासुसी उपन्यास लेख्छु भनेर शुरु गरेको थिएँ । तर २०-२५ पेज जति लेखिसकेपछि त्यत्तिकै छोडेछु । अलिक पछि पनि अर्को लेखेको थिएँ प्रमाणपत्र पार गरेर स्नातक पढ्न काठमाण्डौ गएको वेला । त्यो उपन्यास मैले छिट्टै नै पूरा गरेको थिएँ । त्यो एउटा जासुसी उपन्यास नै थियो तर अपराधीले अपराध गर्ने शैली र अपराधी पत्ता लगाउने शैलीमा मैले अत्याधुनिक प्रविधिको प्रयोग गरेको थिएँ । तर पनि मैले त्यसलाई छपाउनु पर्छ भनेर कहिले पनि सोचिन । १-२ जना साथीहरुलाई पढ्न पनि दिएको थिएँ । २-३ वर्षसम्म त घरमै थियो । तर खै कसले लग्यो, पछि खोज्दा भेटिन । कुनै साथीले लगेर फिर्ता गरेन होला सायद ।

त्यो उपन्यास सकेलगत्तै फेरि एउटा फरक खालको उपन्यास लेख्ने विचार गरें र लेख्न थालें । त्यो चाहिँ मैले एउटा केटाले आफू पुरुष हुनुको महत्व हरायो अर्थात पुरुषत्व हरायो भने के हुन्छ भनेर लेख्न शुरु गरेको थिएँ । त्यो पनि त्यस्तै २०-२५ पेज जति लेखेर अधुरै छोडिएछ । सायद त्यो पनि हराउँथ्यो होला तर बुवाले अरु कितावहरुसँगै जतनसाथ राख्नु भएको रहेछ । हिजो वेलुका कुनै एउटा किताव पढ्नु पर्‍यो भनेर किताव खोज्दा पो यो डायरी भेटें । पूरा त छैन तर यहि व्लगमा धारावाहिक रुपमा त्यसलाई सार्दै पूरा गर्नु पर्ला भन्ने सोचेको छु । हेरौं के हुन्छ । अनि साँच्ची मैले यसको शिर्षक पनि राखेको छैन अहिलेसम्म । यो पूरा भएछ भने यहाँहरुले नै यसको न्वारान गरिदिनु होला । धन्यवाद ।
.............................................................................................................................................................


"खै के भनौं प्रकाश म । बोल्नको लागि कुनै शब्द नै पाउँदिन म । मेरो छाती वेदनाले दुखिइरहेछ । बाँच्नको लागि समयसँग, परिस्थितिसँग संघर्ष गरिरहेछु। तर अहिलेसम्म यो संघर्षमा कसैको हार या जीत हुन सकेको छैन । कहिले म अगाडि हुन्छु कहिले समय । यस्तै यस्तै छ कुरा । म तलाई के भनौ मेरो भावना, मेरो कथा, मेरो ब्यथा भनौ कि मेरो ईतिहास .... एउटा सिङ्गो इतिहास ब्यक्त गर्ने चाहना हुँदा हुँदै पनि म सक्दिन। खै कुन्नी किन हो, खै केले रोक्छ । मनभरी दर्दको महाभारत हुँदाहुँदै पनि मेरो गलाबाट कुनै शब्द नै बाहिरिन सक्दैन। समग्रमा भन्ने हो भने प्रकाश, म समुद्री आँधीमा फँसिसकेको छु, जसबाट निस्किन नसक्ने मात्र होइन असम्भब नै छ। त्यसकारण मैले तलाई यो ईतिहास सुनाएर मात्र केही हुने छैन। त्यसकारण प्रकाश मलाई वाध्य नपार यार, यसबाट केही फाईदा छैन, केहि हुनेवाला छैन ।"

राजले आफ्नो मनभित्रको भावनाको बेगलाई रोक्ने कोशिस गर्दै प्रकाशलाई आफूलाई अतितमा नलैजानको लागि कोशिस त गरेकै हो तर प्रकाश पनि त्यति सजिलै मान्ने खालको मान्छे त कहाँ थियो र । आफ्नो बालककालको साथीसँग बल्ल आज भेट भएको त्यो पनि आफ्नो साथीको एकदम गम्भिर दुर्दशा देखेर उसको मन दुखिरहेको थियो र साथीको दु:ख बाँड्नको लागि भन्यो -
"राज, हेर, तँ मेरो एउटा यस्तो साथी होस् जसको लागि म सम्पूर्ण तन, मन, धन अर्पण गर्न पनि तयार छु। हेर राज, हुन त हामी लगभग अठार बर्षपछि बल्ल आज एक अर्कासँग भेट्दैछौं। हुन त तैले मलाई यो अबधिमा बिर्सी पनि सकेको थिइस् होला तर तैले मेरो यो कुरामा विश्वाश गर्नु र नगर्नु त्यो तेरो कुरा हो कि यो अठार बर्षको प्रत्येक दिन मैले तलाई सम्झेको थिएँ । तँलाई म कसरी बिर्सिन सक्थें र। तैंले गर्दा म कतिपल्ट यमराजको पन्जाबाट फुत्केर आएको छु । त्यतिबेला तँ थिइनस भने आज प्रकाश नाम गरेको यो जन्तु यो दुनियाँमा हुने थिएन। जतिबेला म त्यो हाम्रो गाउँ नजिकैको पोखरीमा पौडिन नै नजानी हाम्फालेको थिएँ, तैले पनि पौडी खेल्न नजानेको भए म सिधै यमराजको मुखमा ............. । तँ त त्यतिबेला अर्थात् सानो हुँदा साह्रै शाहसी र चलाख पो थिइस त, अहिले चाहिँ किन यस्तो मुर्ख र हुतिहारा कुरा गर्छस ।" प्रकाश धाराबाहिक रुपमा राजलाई सम्झाउने प्रयत्न गरी नै रहेको छ। "हामी जंगलमा दाउरा काट्न जाँदा मलाई सर्पले टोक्दा टोकेको ठाउँभन्दा अलिक माथि आफ्नो सर्टले बाँधेर अनि सर्पले टोकेकै ठाउँमा खुकुरीले अलिकति काटेर सबै बिष रगतसँगै बगेपछि अस्पताल लगेको तैले नै होइन ? गोपाल र म झगडा गर्दा गोपालले हानेको ढुङ्गा आफ्नो जिउमा थापेर मलाई जोगाएको पनि तैले नै होइन र ? अनि भन् त राज, म जिन्दगीमा कहिल्यै तँलाई भुल्न सकुँला त । बरु म अरु सवैथोक भुल्न सक्छु तर तँलाई चाहिँ कुनै हालतमा पनि भुल्न सक्दिन, राज तँलाई म बिर्सिनै सक्दिन । भन् यार भन् तेरो वेदना मलाई भन् । म तँलाई पूर्ववत् स्थितिमा ल्याउन सक्दो कोशिस गर्नेछु ।"
"मैले भनिसकें नि प्रकाश, तैंले मेरो लागि केही पनि गर्न सक्दैनस् । तँ त के संसारको कुनै पनि शक्तिले अव मेरो समस्या समाधान गर्न सक्दैन ।"
"तै पनि तेरो समस्या त बता न समाधान नै हुन नसक्ने नै छ भने पनि .........।"
"सुनेर के गर्छस् । हदै भए एउटा कथा या उपन्यास लेख्लास् सत्य घटनामा आधारित भनेर, आखिर तँ एउटा लेखक पनि त होस् नि ।"
"ठट्टा नगरी छिटो आफ्नो व्यथा सुनाउन थाल् न भन्या ।"
"ल सुनाउन त सुनाउँछु तर विचमा प्रश्न प्रतिप्रश्न चाहिँ नगर है नत्र म विचैमा छोडेर हिँडिदिन्छु नि ......... ।"
"ल ल म मुखमा ताला लगाएर बस्छु, तँ शुरु गर् ।" प्रकाश हाँस्दै राजलाई उक्साउँछ ।
"आखिर तैंले नभनी मलाई धरै दिइनस् हैन .. । ठिकै छ ल सुन् ।"
राज आफूभित्रको व्यथा कथाको रुपमा प्रकाशलाई सुनाउन सुरु गर्छ ।

क्रमस :

Friday, January 11, 2008

मित्र भेट


धेरै पहिलेदेखि मलाई म चितवनमा २ वर्षसम्म बस्दाका अनुभवहरुको बारेमा व्लग लेख्न मन लागिरहेको थियो त्यही भएर त्यतिवेलाका केही फोटोहरु पनि स्क्यान गरिराखेको थिएँ । तर कार्यव्यस्तता र अन्य विभिन्न कुराले त्यत्तिकै अड्काइरहेको थियो । तर कहिलेकाहीँ सोच्दै नसोचेको कुरा पनि भइदिँदो रहेछ । त्यस्तै हिजो साँझ एउटा अचम्म भयो । १० वर्षअघि चितवनमा रहँदाका साथीहरुमध्ये कमलले अचानक मलाई फोन गर्‍यो हामी दमकभन्दा १० कि.मि. पर छौं, तिमीलाई भेट्न आउँदैछौं भनेर । म उनिहरुलाई एकदमै सम्झिरहन्थें । त्यही भएर कमल आउँदै गरेको कुरा सुनेर म एकदमै उत्साहित भएँ र भनें - दमक आएपुगेपछि मलाई फेरि फोन गर्नु म भएको ठाउँ देखाइदिन्छु । नभन्दै १५-२० मिनटपछि फेरि कमलको फोन आयो । उनीहरु दमक आइपुगेछन् । म भएको ठाउँभन्दा करीव १०० मि‌टर पर रहेछन् । मैले यताबाट यसरी आउँदै गर म बाहिर निस्केर तिमीलाई हेर्दै गर्छु भनें । र बाहिर निस्केर बाटो हेर्न थालें । एकैक्षणमा मैले कमललाई देखिहालें । पछिपछि आनन्द पनि रहेछ । चितवनमा रहँदा उनिहरु मेरा एकदमै मिल्ने साथी थिए ।



हेटौडाको सहीद पार्कमा आनन्द कमल र म आजभन्दा ठीक १० वर्ष अघि ।

हिजो साँझ हामी तीन जना यहीँ दमकमा


हामी धेरै ठाउँहरु पनि घुमेका थियौं । मनकामना, लुम्विनी, हेटौडाको सहीद पार्क, सौराहा, गैंडाकोटको कालिका मन्दिर आदि धेरै ठाउँहरु हामी ३ जना र अफिसका अरु साथीहरु समेत घुमेका थियौं ।

टाढा घुम्न जाँदा चाहीँ अरुहरुलाई पनि सामेल गराइन्थ्यो । तर फिल्म हेर्न र रेष्टुरेण्ट जाँदा चाहिँ प्राय: हामी ३ जना मात्रै जाने गर्थ्यौं । मैले चितवन छोडेपछि कमलसँग २ पटक र आनन्दसँग १ पटक मात्र भेट भएको थियो यहिँ दमकमै । कमल एकपटक अफिसकै काममा आएको थियो र अर्कोपल्ट चाहीँ उमेश दाइको विहेमा आनन्द र अरु सवैसँग ।
हिजो पनि उनिहरु अफिसकै कामको सिलसिलामा इटहरी आएका रहेछन् । त्यहाँसम्म आइसकेपछि किन मलाई नभेट्ने भनेर यता आएका रहेछन् । मैले यतै बस्नु पर्छ आज भनेको हतार छ फेरि इटहरी नै पुग्नु पर्छ भनेर आधा घण्टा पनि राम्रोसँग नवसी हिँडिहाले । इटहरी पुगेपछि आइपुग्यौं भनेर फोन गरेका थिए ।




पुरानो सम्झना - केही फोटोहरु :





राप्ती नदीमा कमल, देवेन्द्र र म (चितवन राष्ट्रिय निकुञ्ज)






कसरा (चितवन राष्ट्रिय निकुञ्ज) मा म, आनन्द र देवेन्द्र




लुम्विनी


लुम्विनी



कालिका मन्दिर - कमल, म र पुष्कर

Thursday, January 10, 2008

वर्ल्डलिंकले रुवायो ।

नेपाल टेलिकमको डायल अप इन्टरनेटले कावु बनाएको हामी साइवर व्यवसायीलाई यो वर्ल्डलिंकको ब्रोडव्याण्डले त झन रुनु न हाँस्नु बनाएको छ । ब्रोडव्याण्ड कनेक्सन भनेर चलाउन थालेको तर नाम मात्रको ब्रोडव्याण्ड रहेछ । हामी जस्ता सेवाग्राहीकै व्याण्ड पो बजाइदियो यसले त । योभन्दा छिटो त बरु नेपाल टेलिकमको डायलअप नै छ । टेलिकमको खरावी भनेको टेलिफोन नचलेको बेला वा दमकदेखि काठमाण्डौबिचमा कहिँ अप्टिकल फाइवर चुँडियो वा चोरियो भने चाहिँ २-३ दिनसम्म बन्द नै हुन्छ नत्र त कनेक्सन त ठिकै छ मुल्य अनुसार । यो वर्ल्डलिंकको ब्रोडव्याण्डलाई त पैसा चाहिँ धेरै तिर्नु पर्ने गुणस्तर चाहिँ गए गुज्रेको । हैन टन्न पैसा लिइसकेपछि त सेवा पनि पैसा लिए अनुसार नै दिनु पर्ने हैन र ? कि व्यापार गरेजस्तो गरेर लुट्न खोजेको हो भने त मेरो भन्नु केही छैन ।

गर्न पनि अति गर्छन् बा ‌.... । हिजो वर्ल्डलिंकको अफिसमा फोन गरेर कनेक्सन स्लो भयो भनेको त त्यहाँको एउटा कर्मचारी त तपाईंको स्वीच (हव) विग्रेको होला भन्दै स्वीच पो बोकेर आएछ । मुलाको साग ल सर्भरमा हेर् भनेर सर्भरको स्पीड देखाइदिएँ । अनि अर्को साइवरको साथीलाई पनि फोनमा कुरा गराइदिएँ कनेक्सन कस्तो छ भनेर । कस्तो हुनु नि उस्तै रहेछ उसकोमा पनि । टेलिकमको डायलअप चलाएर तुलना गर् भनेको बल्ल उसलाई थाहा भएछ । अनि विराटनगर फोन गरेर हेर्न लगाउँछु किन स्लो भएछ भन्दै गयो । हैन यस्तो खत्तम सेवा वर्ल्डलिंकले दमकमा मात्र दिएको हो कि अरुतिर पनि यस्तै नै छ ?

Wednesday, January 2, 2008

टेलिकमको ज्यादती

दमक क्षेत्रमा नेपाल टेलिकमको मोवायल फोन सेवा गत छ दिनदेखि अवरुद्ध भइरहेको छ । के भएको भनेर टेलिकमका कर्मचारीलाई सोद्धा पश्चिमतिर अप्टिकल फाइवर चुँडिएको छ भन्छन् । तर अप्टिकल फाइवर नै चुँडिएको भए त अरुतिर पनि सेवा अवरुद्ध हुनु पर्ने हो । ल्याण्डलाइन पनि नचल्नु पर्ने हो । कमसे कम पूर्वमा विर्तामोड र पश्चिममा उर्लावारीमा पनि मोवायल नचल्नु पर्ने हो । तर एस‌.टि.डि. आइ.एस.डि. त दमकमै पनि चलिरहेको छ र ती ठाउँहरुमा पनि मोवायल चलिरहेको छ । दमक मै पनि कतै कतै उर्लावारीको टावरले भेट्ने ठाउँमा चलिरहेको छ ।

प्रिपेड मोवायल नचल्दा त आर्थिक रुपमा टेलिकमलाई मात्र घाटा होला (हातमा मोवाइल बोकेर फोन गर्न र कल रिसिभ गर्न नपाउने विडम्वना त एकातिर छँदैछ) तर पोष्टपेडका ग्राहकहरुले त दिनको कमसेकम २० रुपैयाँ विनाकाममा तिर्नु परिरहेको छ । यो रकम त टेलिकमले हामी ग्राहकसँग लिदैँन होला नि ।