Tuesday, July 1, 2008
धार्मिक पर्यटकीय स्थल बन्दैछ माङसेबुङ
किराँत धर्मावलम्बीहरूको बसोबास रहेको इलामको बाँझोस्थित माङसेबुङ धार्मिक पर्यटकीयस्थलको रूपमा विकास हुँदैछ। माङसेबुङ बाँझो गाविसको वडा नम्बर आठ र नौमा रहेको छ। त्यस क्षेत्रभित्र लासिङबुङ, लारूम्बा, सेनेला, भालुटार, मिक्तोक्लाजस्ता गाउँहरू पर्छन्। किराँत धर्म र संस्कृतिका सुधारक एवं प्रचारक फाल्गुनन्द लिङ देनका अवतार मानिएका आत्मानन्द लिङ देन २०३४ सालदेखि त्यस क्षेत्रमा बस्न थालेपछि यसको चर्चापरिचर्चा बढ्दै गएको हो। किराँत चोलुङ माङगेना सेवा समितिका अध्यक्ष केहेरसिंह योङ हाङ का अनुसार अहिले माङसेबुङ क्षेत्रमा करिब नौ हजार किराँत धर्मावलम्बीहरू बसोबास गर्छन्। उनीहरूमध्ये ९० प्रतिशत लिम्बू र अन्यचाहिँ राई, गुरूङ, मगर समुदायका छन्। माङसेबुङ आत्मानन्द लिङ देनलाई धर्मगुरू मान्ने धर्मावलम्बीहरूको प्रमुख आकर्षणको केन्द्र हो। यसका अलावा किराँत धर्मसंस्कृतिको अध्ययन गर्ने अनुसन्धानकर्ताहरूका लागि पनि अध्ययन र अनुसन्धान थलो बन्दैछ। 'यहाँको रहनसहन र किराँत धर्मप्रतिको आस्थाका बारेमा अध्ययन गर्न विभिन्न क्षेत्रबाट मानिसहरू आउने गर्दछन्,' स्थानीय नन्दकुमार नेम्बाङ ले बताए। किराँत अर्थात् जनजाति भन्नासाथ मधपान र मांसाहार गर्ने समुदाय भनेर चिनिन्छ। तर, माङसेबुङमा कसैले पनि धूमपान, मधपान र मांसाहार गर्दैनन्। किराँत धर्म र संस्कृतिका सुधारक फाल्गुनन्द लिङ देनको विचारलाई आत्मसात गर्दै गाउँमा कसैले पनि धूमपान, मधपान र मांसाहार नगरेको स्थानीय सेसेहाङ फियाकले बताए। सो क्षेत्रमा रहेको सरस्वती प्रस्तावित माध्यमिक विधालयका प्रधानाध्यापक मुक्तिहाङ साम्बाले माङ सेबुङ मा कसैले पनि जाँडरक्सी नखाने भएकाले आपसमा कहिल्यै झगडा नभएको बताए। जाँडरक्सी, चुरोट, खैनी र मासु नखानाले स्थानीयवासीले कम खर्चमा घरव्यवहार चलाउने गरेको पनि उनले जनाएका छन्। 'राई, लिम्बूहरूको धेरै खर्च जाँडरक्सी र मासुमा हुने गर्छ। त्यसैले यहाँको परिवारको घरखर्च कम छ। विवाह, मृत्युसंस्कार पनि कम खर्चमा सकिन्छ,' उनले भने। त्यस क्षेत्रका धर्मावलम्बीहरूको जन्म, विवाह, मृत्युजस्ता संस्कार अन्यत्र बसोबास गर्ने किराँतहरूको भन्दा फरक छ। मांसाहार नहुनाले माङसेबुङमा कसैले पनि सुँगुर, कुखुरा पाल्दैनन्। त्यसो त त्यहाँका स्थानीयवासीहरू जुवातास, डाइस, क्यारेमबोर्ड, लुँडो र चेस पनि खेल्दैनन्। फाल्गुनन्द लिङ देनको जन्मजयन्ती कात्तिक २५ गते, धर्मगुरू आत्मनन्द लिङदेनको जन्मोत्सव मंसिर १८ गते र धर्मगुरूकी श्रीमती पवित्रहाङमा लिङ देनको जन्मोत्सव माघ ३ गते र चासोक तङ नाम (न्वागी पर्व) का बेलामा माङसेबुङ क्षेत्रमा किराँत धर्मावलम्बीहरूको भीड लाग्ने गर्छ। त्यसबेला नेपालका विभिन्न ठाउँबाट तथा भारत, भुटानलगायतका देशबाट पनि भक्तजनहरू आउने गर्दछन्। यस्ता उत्सव तथा पर्वका बेला अधिकांशले सेतो रङ को परम्परागत पोसाक लगाएका हुन्छन्। यस्तो परम्परागत पोसाकलाई तागा (पुरूषले लगाउने) र मेख्ली (महिलाको) भनिन्छ। माङसेबुङमा 'मुन्धुम' पढाइ हुने पाठशाला रहेको छ। यस्तो पाठशाला नेपालमा अन्यत्र छैन। त्यसो त उनीहरूले अंग्रेजी माध्यममा पढाइ हुने निजी विधालयहरू पनि खोलेका छन्। धर्मावलम्बीहरूले जनश्रमदान गरेर माङसेबुङ क्षेत्रमा डाँडावरिपरि पाँच किलोमिटर लामो रिङ रोड (चक्रपथ) पनि खनेका छन्। चक्रपथभन्दा माथिल्लो क्षेत्रमा माङहिम (किराँतमन्दिर) र धर्मगुरूको आश्रममात्र रहेको छ। मानिसहरूको बसोबासचाहिँ चक्रपथभन्दा मुनि रहेको छ। माङसेबुङ इलाम सदरमुकामदेखि १५ कोस दक्षिणमा पर्छ। तर, झापाको दमकबाट २१ किलोमिटर लामो कच्च्ची सडक पार गरेपछि यस ठाउँमा पुगिन्छ। माङसेबुङलाई नेपालकै प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बन्न सक्ने प्रशस्त सम्भावना रहेको भन्दै किराँत चोलुङ अंसिमाङगेना सेवा समितिले चाहिँ सरकारसँग शिक्षा, स्वास्थ्य, खानेपानी, सडक र सञ्चारजस्ता आधारभूत पूर्वाधार तयार गरिदिनुपर्ने बताउँदै आएको छ। 'यो किराँतहरूको मात्र सम्पत्ति होइन, राष्ट्रकै सम्पत्ति हो,' अध्यक्ष केहेरसिंह योङहाङले भने।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment