Monday, August 28, 2023

बुवाको कथा

जागीरको शिलशिलामा बुवाले काम गरेका विभिन्न कार्यालयहरूमध्ये उहाँले आफ्नो अनुभव सुनाउनु भएको एउटा घटना त्योभन्दा पहिले विद्यार्थी जीवनको एउटा गरी बुवाका दुईवटा अनुभव मैले कहिल्यै नबिर्सने घटनाका रूपमा रहेका छन् । 
 पहिलो घटनाका बारेमा उल्लेख गर्दा जागीरको शिलशिलामा सुनसरीको इनरूवामा रहँदा बुवाले अनुभव गर्नु भएको कुरा, जुन उहाँले त्यतिबेलै घरमा आएर हामीलाई सुनाउनु भएको थियो । यो घटना २०४५ सालको थियो । त्यो वेला बुवा तत्कालिन जिल्ला सहकारी संघ सुनसरीमा ताप्लेजुङबाट सरूवा भएर आउनु भएको थियो । त्यहाँ बसाइको क्रममा एक साँझ बुवाकै एकजना कर्मचारी साथीकी श्रीमती अचानक पेट दुखेर विरामी भइछन् । 
निक्कै दुखेर रूने चिच्याउने गर्दै धामी बोलाउन भनिछन् । तर त्यहाँ वरिपरीका छिमेकी सवै बाहिरी ठाउँहरूबाट गएका कर्मचारीहरू र उनीहरूका परिवार मात्र भएकाले सवै रनभूल्लमा परेछन्, को र कहाँबाट धामी बोलाउने भनेर । त्यत्तिकैमा बुवाले धामी विद्या मैले जानेको छु भनिदिनु भएछ । उहाँले त्यसो भनेपछि त्यहाँ भएका सवैलाई "के खोज्छस् कानो आँखा" भने झैं भएछ ।
 त्यसपछि बुवाले हातमा अलिकति चामल लिएर मन्त्र फलाक्दै ती विरामी महिलालाई चामलले पर्सिंदै गर्नु भएछ । केहीबेर त्यसो गरेपछि ती महिला निको भइछन् । वरिपरि भेला भएका साथीहरूले बुवालाई अचम्म मान्दै सोधेछन्, "तपाईं धामी पनि हो र !"