Monday, August 28, 2023

बुवाको कथा

जागीरको शिलशिलामा बुवाले काम गरेका विभिन्न कार्यालयहरूमध्ये उहाँले आफ्नो अनुभव सुनाउनु भएको एउटा घटना त्योभन्दा पहिले विद्यार्थी जीवनको एउटा गरी बुवाका दुईवटा अनुभव मैले कहिल्यै नबिर्सने घटनाका रूपमा रहेका छन् । 
 पहिलो घटनाका बारेमा उल्लेख गर्दा जागीरको शिलशिलामा सुनसरीको इनरूवामा रहँदा बुवाले अनुभव गर्नु भएको कुरा, जुन उहाँले त्यतिबेलै घरमा आएर हामीलाई सुनाउनु भएको थियो । यो घटना २०४५ सालको थियो । त्यो वेला बुवा तत्कालिन जिल्ला सहकारी संघ सुनसरीमा ताप्लेजुङबाट सरूवा भएर आउनु भएको थियो । त्यहाँ बसाइको क्रममा एक साँझ बुवाकै एकजना कर्मचारी साथीकी श्रीमती अचानक पेट दुखेर विरामी भइछन् । 
निक्कै दुखेर रूने चिच्याउने गर्दै धामी बोलाउन भनिछन् । तर त्यहाँ वरिपरीका छिमेकी सवै बाहिरी ठाउँहरूबाट गएका कर्मचारीहरू र उनीहरूका परिवार मात्र भएकाले सवै रनभूल्लमा परेछन्, को र कहाँबाट धामी बोलाउने भनेर । त्यत्तिकैमा बुवाले धामी विद्या मैले जानेको छु भनिदिनु भएछ । उहाँले त्यसो भनेपछि त्यहाँ भएका सवैलाई "के खोज्छस् कानो आँखा" भने झैं भएछ ।
 त्यसपछि बुवाले हातमा अलिकति चामल लिएर मन्त्र फलाक्दै ती विरामी महिलालाई चामलले पर्सिंदै गर्नु भएछ । केहीबेर त्यसो गरेपछि ती महिला निको भइछन् । वरिपरि भेला भएका साथीहरूले बुवालाई अचम्म मान्दै सोधेछन्, "तपाईं धामी पनि हो र !" बुवाले उनीहरूलाई विरामीभन्दा अलिक पर लगेर विस्तारै भन्नु भएछ, "म कहाँ धामी हो र ? मैले त गायत्री मन्त्र पढ्दै फुकेको हो ।" 
 त्यस्तै अर्को घटना २०२२-२३ तिरको हो । त्यतिवेला बुवाहरूको बसोबास इलामको जीतपुर, खान्द्रुङमा थियो । एक दिन पढाइको शिलिशिलामा धरान आएर फर्कने क्रममा निक्कै राति भएछ । घर पुग्नुभन्दा केही अगाडि रहेको धारामा पुग्दा एउटा कालो छायाँ देख्नु भएछ । बुवा खासै नडराउने भएपनि पहिले कहिल्यै नदेखेको त्यो छायाँ एक्कासी देख्दा मुटु अलिकति ढक्क फुलेजस्तो भएछ । तै पनि आँटैले अगाडि बढ्नु भएछ । जति अगाडि बढ्यो, त्यो छायाँ पनि झन् झन् अग्लो अग्लो देख्न थाल्नु भएछ । नजिकै पुग्दा त अजङ्गकै देखिएछ । अव बुवालाई लाग्यो यो त भूत नै हो, अब यसले मलाई मार्छ । भित्र डर भएपनि "मारे मारोस्, एकपल्ट भिडेरै मरूँला" भनेर त्योसँग लाप्पा खेल्न थाल्नु भएछ । केहीबेरको लडाईंमा बुवाले भूतलाई पछार्नु भएछ र त्यहाँबाट घरतिर दगुर्नु भएछ ।
 भोलिपल्ट विहान नित्य कर्मको लागि धारामा आउँदा हिजो मैले पछारेको भूत त्यहाँ छ कि छैन भनेर डराउँदै हेर्न जाँदा त त्यहाँ त एउटा तितेपातीको बुट्टो पो माडमुड भएको रहेछ । अनि बुवा मुस्कुराउँदै फुस्फुसाउनु भएछ, "ए ... मेरो सातो खाने भूत त यो पो रहेछ ।" 
म सानै हुँदा बुवाले सुनाउनु भएका आफ्नो जीवनका यी दुई घटनाका वर्णनपछि भने मैले भूतप्रेत र धामीझाँक्रीप्रति आजपर्यन्त विश्वास गर्न सकेको छैन । र, कसैले मेरोसामु धामी या भूतको कुरा गरेमा म अहिलेपनि बुवाका यी दुई घटनाका बारेमा सुनाउन थालिहाल्छु । 
 बुवा र म बीचको सम्वन्धको कुरा गर्दा मलाई लाग्छ, बाल्यकालमा मजति भाग्यमानी कोही पनि थिएन होला । म बुवालाई असाध्यै माया र आदर गर्थें र डराउँथे पनि (अझै पनि गर्छु, डराउँछु तर बेलाबेलामा जवाफ पनि फर्काउँछु) । बुवाको एउटा अति नै राम्रो श्यामश्वेत फोटो थियो, पाइलटको जस्तो टोपी र टाइसुट लगाएको, त्यसलाई म कितावको बिचमा राखेर स्कूल लान्थें र साथीहरूलाई देखाउदै भन्थें, "मेरो बुवा" । 
 जस्तै गल्ती, विगार या चकचक गर्दा पनि मैलै कहिल्यै बुवाको हातबाट कुटाइ खानु परेको मलाई सम्झना छैन । कक्षा ७ मा पढ्दा भने मैले बुवाको हातबाट एक झापट खाएको छु । तर म त्यतिवेला सानै भएपनि म बुझ्दथें, कसैको तिव्र दवाव थेग्न नसकेर बुवाले नचाहँदा नचाहँदै मलाई एक झापड हान्नु भएको थियो । मैले आफ्नो नजिकको 'आफन्त' (नाम उल्लेख गरिनँ, अव यहि नाम) लाई केहि दिनअघि मुख छाडेको थिएँ। उहाँको नाममा एकलखे लगाएर अरू एक दुई शव्द भनेको थिएँ। मैले उहाँलाई त्यसो भन्नु किमार्थ उचित थिएन । म उल्टो स्वभाव (पहिले बोल्ने, पछि सोच्ने) भएकोले हो कि बालमस्तिष्कले सोच्न सकेन, मैले भन्नै नहुने मान्छेलाई त्यसो भनें ।
 घटना के भएको थियो भने सिताराम काका, दिनेश भाइ र म (जो सहपाठी थियौं), विद्यालयबाट घर फर्कंदा बाटोमा पर्ने पैनीमा पौडी खेल्दै थियौं।त्यत्तिकैमा 'आफन्त' साइकल चढेर आइपुग्नु भयो र हाम्रा कपडा लिएर हामीलाई "तिमीहरू फटाहहरू, खुरूखुरस् घर नगएर यहाँ पौडी खेलेर बस्या छौ ?" भन्नु भयो । अरू दुईजना केही बोलेनन्, म मात्र छुच्चो भएर मुख छोडें । उहाँ अरू केही नभनी हाम्रा कपडा त्यहीँ छोडेर साइकल चढेर हिँड्नु भयो ।
हामी पनि घरतिर लाग्यौं । 
बाटोमा सिताराम काकाले मलाई निक्कै सम्झाए । उनी मभन्दा दुई बर्ष जेठा भए पनि हामी एकै कक्षाका सहपाठी थियौं । सानैदेखि अति नै चलाख थिए उनी, कुरा पनि धेरै नै जानेका थिए । उनले त्यति बेला मलाई सम्झाउँदै भनेका थिए, "दाजु र काका बाबु समान हुन् ।" मसँग अति नै मिल्थे पनि, तर सिताराम काका अल्पायुमै विते । 
बुवाको जागीर त्यतिवेला चन्द्रगढीमा थियो विदा पारेर या हरेक शुक्रबार साँ झमात्र घर आउनु हुन्थ्यो । त्यो घटना भएको बार त मलाई सम्झना छैन तर शुक्रबारभन्दा केही दिनअघि हुनुपर्छ । शुक्रबार बुवा घर आएपछि साँझ 'आफन्त' हाम्रो घर आउनु भयो । उहाँले बुवासँग एकान्तमा केहीबेर कुरा गर्नु भयो । 
 हाम्रो घरमा भारतको असमबाट आएका विनोदचन्द्र पोख्रेल भन्ने एकजना शिक्षक थिए । उनी दिउँसो स्थानीय (तत्कालीन पाणिनी निम्न माध्यमिक) विद्यालयमा पढाउँथे, विहान वेलुका हामीलाई घरमा । हामी उनीसँगै पढ्दै थियौं । बुबा र 'आफन्त' हाम्रो छेउमा आएर उभिनु भयो । मलाई भने डर लाग्यो, 'आफन्त'ले त्यो कुरा सुनाउनु भयो होला, अव बुवाले मलाई कुट्नु हुन्छ भन्ने । तर धेरैबेरसम्म बुवाले कुनै प्रतिकृया नदेखाएपछि 'आफन्त' त्यहाँबाट हिँड्नु भयो । अर्को हप्ता फेरि बुवा घर आएपछि साँझ 'आफन्त' आउनु भयो, त्यसैगरी बुबासँग एकान्तमा कुरा गर्नुभयो हामी पढिरहेको ठाउँमा आएर दुवैजना उभिनु भयो । उहाँहरूको अनुहार मैले डरले हेर्न सकिनँ । तर बुवाको कुनै प्रतिकृया नदेखेपछि त्यो दिन पनि 'आफन्त' त्यत्तिकै फर्कनु भयो । 
 तेश्रो हप्ता पनि बुवा आएपछि साँझ दुवैजना एकछिन कुरा गरेर हामी भएठाउँ आउनुभयो । म ढुक्क थिएँ, आज पनि बुवाको कुटाईबाट जोगिन्छु भनेर । तर अचानक बुवाले मलाई एक झापट लगाएर भन्नु भयो, "'आफन्त'लाई त्यसरी मुख छोड्छस् ?" म बोलिनँ र रून पनि सकिनँ । तीन हप्तासम्ममा मेरो डर पुरै हटिसकेको थियो । यसअघि कहिल्यै हात नउठाउनु भएको मेरो बुवासँग म रिसाइनँ र चित्त पनि दुखाइनँ, किनकी गल्ती मेरै थियो अनि अर्को कुरा त्यो हात बुवाले अरूको दवावमा उठाउनु भएको थियो । विनोद सरले पनि "तिमीले त्यस्तो भन्नु हुँदैनथियो" भनेर सम्झाए । ('आफन्त', तपाईंले यो कुरा सम्झिरहनु भएको छ भने, आज करिव ४४ बर्षपछि यहिँबाट भन्छु, I am sorry for that । 
अर्को एकपल्ट म जवान भइसकेपछि पनि बुवाले दवावमा परेर हात त उठाउनु भएको थियो, तर हात मेरो गालासम्म आइपुग्नै पाएन । समग्रमा अहिले मैले बुबाको बारेमा भन्नु पर्दा यति भन्न सक्छु कि बुवा त्यो वेला निडर र सहासी हुनुहुन्थो । जेठाबाबु (जगत बहादुर लामा) भनेपछि गाउँभरिका मान्छे थर्कमान हुन्थे, तर बुवा ती जेठाबाबुसँग पनि कहिल्यै झुक्नु भएन । उहाँलाई हतपत कसैले दवाव र प्रभावमा पार्न सक्दैनथ्यो । उमेरका कारण हो या रोग विरामका कारण अहिले बुवा ती कुरा झेल्न सक्नु हुन्न जस्तो लाग्छ । तर त्यसो भन्न पनि सकिँदैन किनकि बुवामा यति आत्मबल, आत्मविश्वास छ कि शरीरमा आधा दर्जनजति विराम बोकेर विभिन्न सामाजिक, धार्मिक कार्य आदिमा निरन्तर खटिरहन सक्नुभएको छ। यस्तो सकृय, समाजसेवी, सहृदयी बुवाको छोरा हुन पाउनु मेरो लागि गौरवको कुरा हो । 
 
- जेठो छोरो राजेन्द्र 

 (बुवाबारे हालै प्रकाशित 'जीवनको यात्रामा' पुस्तकमा एक प्रकाशित मेरो लेख)

No comments: