Thursday, July 17, 2008

गइन् १०८ वर्षे ब्लगर


रिलेका स्मृतिहरूलाई खोतल्नु एकदमै सुखद् थियो । उनीसँग त स्मृतिको खजाना नै थियो ।
विश्वकै सबैभन्दा वृद्ध ब्लगर ओलिव रिलेको १०८ वर्षको उमेरमा शनिबार देहान्त भएको छ । उनी अस्ट्रेलियामा बस्थिन् ।
फेब्रुवरी, २००७ देखि उनले ब्लग लेख्न थालेकी थिइन् । ब्लगमा उनको मृत्युअगाडिसम्म लेखिएका ७० वटा फरक विषयका ब्लगहरू रहेका छन् ।
ब्लगमा उनले आफ्नो लामो जीवनको अनुभव र आधुनिक जीवनका बारेमा आफ्ना विचारहरू व्यक्त गरेकी छिन् । ब्लगमा दुवै विश्वयुद्ध र आर्थिक मन्दीका बारेमा पनि कुरा उठाएकी छिन् ।
२६ जुनमा लेखिएको अन्तिम ब्लगमा उनले आफ्नो अस्पताल 'केयर होम' का नर्स र आफूलाई भेट्न आएका शुभचिन्तकसँग खुसीका गीत गाएको उल्लेख गरेकी छिन् ।
गएको शनिबार न्यू साउथबेल्सको एउटा नर्सिङ होममा उनले आफ्नो १०८ वर्ष पुरानो देहत्याग गरिन् ।
उनको मृत्युपश्चात् उनको ब्लगमा अन्तिम सन्देश यसरी लेखिएको छ, 'हाम्री पि्रय मित्र ओलव रिले आफ्नो जीवनको अन्तिम सास फेरिन् । हजारौं इन्टरनेटका मित्रहरू र सयौ आफन्तहरूलाई उनको रित्तता महसुस भइरहनेछ ।'
रिलेले आफ्नो अन्तिम ब्लगमा लेखेकी छिन्, 'मलाई विश्वासै हुन सकेको छैन, म दुई हप्तादेखि नर्सिङ होममा छु । नर्सहरूले मेरो हेरविचार राम्रोसँग गरिरहेका छन् ।'
रिलेको जन्म २० अक्टोवर १८९९ मा ब्रोकेन हिलमा भएको थियो । डकुमेन्ट्री निर्माता माइकल रुब्बोले बताएअनुसार नै उनलाई ब्लग लेख्न सल्लाह कुनै मित्रले दिएका थिए ।
अस्ट्रेलियाको एबिसी न्युजलाई रुब्बो भन्छन्, 'रिलेका स्मृतिहरूलाई खोतल्नु एकदमै सुखद् थियो । उनीसँग त स्मृतिको खजाना नै थियो ।'
रिलेका नातिका अनुसार उनी ब्लगका माध्यमबाट संसारभरिका नयाँ मानिससँग जोडिएकी थिइन् । यसले उनको मन र दिमागलाई सधै ताजा बनाइराख्थ्यो ।

Monday, July 14, 2008

काल्पनिक

   यो कथामा केही पनि छैन । केवल एउटा पात्र छ । पात्र काल्पनिक हुनाले पात्रले के गर्छ त्यो पनि थाहा नभएकाले केही भएन । थालनी गर्दा कसरी गर्ने ? यतिका वर्ष लेखेपछि म लेखक जसले कयौं प्रमुख आतिथ्य र सभापतित्व भ्याइसकेको छ, त्यसलाई यस्तो समस्या नपर्नुपर्ने ?

  हुन त म तिनै लेखकमध्ये पर्दछु, जो लेख्न त धेरै लेख्दछु तर केही रकम छोडेर प्राप्त गर्न केही सकेको छैन । पत्रिकाले माग्यो कि म गरिब लेखकको उत्साह बढेर आएको हुन्छ । म आफूलाई जसरी भए पनि ठोकठाक गर्छु र लेख्ने लायक बनाउाछु । यतिका वर्ष लेखेर पनि जुन भाउ मलाई दिएका छन् समालोचकहरूले त्यो भन्यो भने हाँसो उठ्दो होला । अझ मेरो पछिल्तिर नलेखेर त के के भन्दा हुन् । म सान्त्वना के गरी आफूलाई दिन्छु भने ती बेवकुफहरू यति लेख्न सकिरहेका छैनन् त्यसैले यस्तो भन्छन् । म केही रकम त पाउँछु लेखेबापत । यसले मेरो परम दरिद्रतामा केही कमी आउाछ भने, तिनका भनाइहरू ईष्र्या नै मान्छु ।

  लेखेर मैले चामल पनि प्राप्त गरेको छु, रक्सी पनि । यहाा तेस्रो कुराको पनि उत्सुकता होला । म स्पष्ट भनिदिउा, मैले तेस्रो कुरो पनि लेखेर पाएको छु । लेखनबाट प्रभावित पारेर होइन नि फेरि । लेखनबाट प्राप्त रकमबाट प्रभावित पारेर । काठमाडौंमा भात खान गाह्रो छ । त्यो तेस्रो कुरो भने उपलब्ध गर्न सजिलो छ, तुलनात्मक रूपमा । कहिलेकाहीं पेटभरि ख्वाइदियो, ऊ पनि तृप्त, आफू पनि तृप्त । भोकपछिको भोक मारिन्छ फोसामा ।

  त्यसो त मलाई लेखक भनेर पूरा स्वीकार गर्न पनि कति जना मात्र चाहादैनन् । भन्छन्­ चारखालको नौसिन्दा पनि त लेखक हो भनेर किन नमान्नु ? यसको जवाफ के दिने ? बोल्नेले पनि यस्तो खरो कुरा मातेपछि नै गरेको हुन्छ । त्यसमा मैले मातेर दिने जवाफको फेरि के अर्थ ?

  कुनै बेला मोसो दलेर हो कि होइन तर डाँडा कटाइदिनुपर्ने लेखक भन्ने पनि सुनेकै हुा । यो लेखक होइन, लेख्ने रहर गरेर बाँचेको मान्छे हो भन्ने पनि यिनै कानले सुनेका छन् । अपमान गर्ने लगभग सम्पूर्ण विशेषण मैले प्रोटिनसरह आत्मसात् गर्नु परेकै छ । अब यतिका भइसकेपछि म फेरि किन पछि हट्ने ? मैले पनि तिनीहरूलाई ईष्र्यालु बनाउने राम्रै प्रतिबद्धता पालेको छु । यो देशमा मभन्दा खराब लेखकै छैन जस्तो गर्दछन् । के त्यस्तो सम्भव छ, जतिसुकै राम्री केटी भए पनि, त्योभन्दा राम्री भेट्ने सम्भावना हुादैन र ? जतिसुकै कुरुप भए पनि अझ कुरुप भेटिने सम्भावना पनि भइरहन्छ । लेखमा पनि त्यस्तै हो । म जतिसुकै खराब लेखक भए पनि म भन्दा खराब लेख्ने लेखक पनि पाइन्छ । पैसा दिन्छन् भने मै खोजेर ल्याइदिन्छु । केही भएन भने, अन्त्यमा मै हुा मभन्दा खराब लेखक भनेर उभ्याइदिन्छु । उनीहरूलाई मभन्दा खराब लेखक चाहिएको त हो नि । मैले नै मलाई नै मभन्दा खराब लेखक भनेर प्रस्तुत गरेपछि त तिनीहरू झन् हर्षविभोर हुनुपर्ने हो तर यी सब निर्भर गर्दछन्, मलाई तिनले दिने पैसामाथि । 

  मेरो एउटै भनाइ छ­- पैसाका लागि लेख्छु भने, राम्रो पैसा पाए पैसैका लागि लेख्न छोड्न पनि सक्छु । यसमा के छ र ?

  अहिले त मलाई आˆनो लेखकीय व्यक्तित्व धान्नसमेत लगभग सारा पत्रपत्रिका आउनुपर्नेछ, आएकै छु । जोसुकैले जेसुकै भनोस् । लेखक नमाने नमानोस्, पत्रिकाले छापुन्जेल दिनु पर्दछ । जुनमा पनि दिन्छु । प्रतिभा-प्रतिभा छाडौा । मागेर दिएन भने पछि पर्ने ठूलो डर छ मलाई । अरू केही नभए पनि, म प्रत्येक पत्रिकामा प्रकट हुने लेखकका रूपमा त चर्चितै छु । यो पनि त उपलब्धि नै हो ।

  यहाँसम्म त ठीक थियो तर यस पटक मेरो दोस्रो दरिद्रता प्रकट हुने डर भएको छ । मैले राम्रो-नराम्रो छाडौँ, यति विषयमा लेखेा अब मसित विषय नै रहेन । दोहोर्‍याउने-सोहोर्‍याउने सब गरेर सिध्याइसको । सम्बन्धका सबै स्वरूप लेखिसकेा । राजनीतिक व्यङ्ग्य लेखिसकेा सबै प्रकारका । समाजका जति खराबी छन्, सब समेटिसकेा । आजको विज्ञान प्रविधि, पर्यावरण, प्रकृति सारा परिसके । अब के लेख्ने ?

  अब केवल एउटा पात्र जोगिएको छ जुन मैले लेखेको छैन । नलेख्ने कारण पनि छ । सो पात्र नितान्त काल्पनिक हो तापनि त्यसका केही कुराहरू जोरजार पारेर खोजेको छु । यो एउटा फ्याङल्याङे पात्र हो, होइन ? खाते होइन तर निम्नमध्यम वर्गीय अव्यवस्थित । खाते केलाई भन्छन् ? तर भन्नलाई भनिदिउा, यो पात्र एउटा निम्न मध्यमवर्गीय खाते हो । दुई प्रकारको मोजा लगाउनु यसका लागि मामुली कुरा हो । यसको घडीले दिनको दुईपटक सही समय दिन्छ । दुई बजेर पच्चीस मिनेटमा । यसकारण कि घडी दुई बजेर ठ्याक्क पच्चीस मिनेटमा कैयौँ दिनदेखि रोक्किएर बसेको छ । दिउासोको समय त यो पात्र हेर्न भ्याउाछ । प्रसन्न पनि हुन्छ, अहिले त दियो नि ठीक समय तर राति दुई बजेर पच्चीस मिनेटको सही समय ऊ हेर्न भ्याउादैन । त्यसबखत ऊ मदिरा सेवन गरेर मस्त निदाएको हुन्छ । यसरी आˆनो घडीले दिने सही समयको ऊ पचास प्रतिशत मात्र उपयोग गर्न भ्याउाछ । पक्कै घडीको ब्याट्री सकियो । फेर्न पैसा लाग्छ । त्यसकारण फेर्दैन । घडी दिनदिनै भिर्छ । संजोगले कसैले ऊसित समय सोधेको छैन । एकपटकबाहेक । एकपटक एउटी तन्वङ्गी केटीले अनुहारमा हतारको तीव्र भावसहित सोधी- "कति बज्यो दाइ ?"

  उसले साँच्चिकै घडी हेर्‍यो । अनि साँच्चिकै आˆनो घडीमा जुन समय सदाकालदेखि बजिरहेको थियो, त्यही बताइदियो । यस्तो नहुादो हो अन्य परिस्थितिमा । केटी अत्यन्त रुपवती थिई । त्यसको रुपबाट प्रभावित मेरो त्यो पात्र निकै हदसम्म आत्तिएको हुादा उसले त्यहाँ सत्य बोल्दा सत्य, असत्य बोल्दा असत्य हुन्छ भन्ने तथ्य ठ्याम्मै बिस्र्यो । केटी मिलनसार थिई । हाँसी । हाँस्दै भनी- "मैले त १२ बज्यो कि बजेन भनेर जान्नलाई सोधेकी थिएा ।" त्यसपछि त्यहाँ अडिइन त्यो केटी ।

  मेरो पात्र सत्य बोलेर जरिमाना तिरेजस्तै गरी उभिइरहृयो, उसले घडी तत्काल झिकेर मिल्काइदिने समेत नसोचेको होइन । पछि फेरि सोच्यो कुनै दिन त कसैले दुई बजेर पच्चीस मिनेटमा समय सोध्ला ? त्यो प्रश्न कुनै केटीले गरी भने यस केटीप्रति भएको गल्ती सपार्ने मौका पाइन्छ । अहिलेलाई एउटी राम्री केटीलाई सानो मानवीय सन्तुष्टी दिन असफल भएकामा उसलाई घोर पश्चाताप भइरहृयो केही बेरसम्म । त्यसपछि ऊ कतै अन्त लाग्यो ।

  घडीपछि उसको जीवनमा जुत्ताको पालो आउाथ्यो । अहिले जुन जुत्ता ऊ लाएर हिाडिरहेको थियो, त्यो कोही अरूको थियो । प्रायः गरेर रक्सी खाएर निस्किादा कुनै अरूकै जुत्तामा खुट्टा छिराएर हिाडिदिन्थ्यो । प्रायः त्यस्तो भएकाले उसको बानी नै भन्ठानुा । पछि जुत्तावालले कसैगरी पत्ता लगाएर उसबाट आˆनो जुत्ता प्राप्त गर्दथ्यो, खुसी हुादो हो । उसका जुत्ताहरूको तुलनामा तीमध्ये कुनैका पनि जुत्ता उम्दा केटिका हुन्थे । यसपटक गोलमालमा पनि गोलमाल भयो । पन्ध्र दिनभित्रमा तीन जोर जुत्ता फेरिदिएछु अर्काकै । अब असल र खराब पनि ती तीन जोर जुत्ताका बीचमा पो गर्न थाल्यो । यद्यपि तीनै जोर अर्काको थिए । तैपनि उसलाई अपसोच केमा लाग्यो भने दोस्रो जुत्ता राम्रो थियो, त्यो फेरेर तेस्रो जोर लगाउन पुगेकोमा उसलाई थकथक थियो । उसको आˆनो जुत्ता त कहाँ होला कहाँ होला ? आजसम्म दावी विरोध आएको छैन । अब त यही जुत्ता पनि फाट्ने बेला भइसक्यो । उसको सोचाइ हो । अब त उसको आˆनै जुत्ता यीभन्दा साबुत देखिने बेला आइसक्यो ।

  एक दिन भोक लागेको थियो । बिहानको समय थियो । एउटा मित्रको घर नजिकै थियो । पसिदियो । पत्तो पाउादैन थिए । जस्तो त्यहाँ ऊ दस महिनाभन्दा बढी भएको थियो नपसेको । त्यतिमा त एउटा बच्चाको गर्भाधान, जन्म र थोरबहुत हुर्काई पनि थालिइसकेको हुन्छ ।

  त्यहाँ गयो । गएपछि थाहा पायो भित्र योगा सिक्न थालेको थियो र योगा गुरुको प्रतीक्षा गरिरहेको थियो पूरा परिवार ।

  मित्रले भन्यो- "तिमी पनि गर आज ।"

  गुरु आयो । गुरुले आफूलाई गुरु देखाउने प्रयत्न जतनसाथ गरेको थियो । लामो केश । पहेालो वस्त्र र पहेालो उपर्ना । जान्न त जान्ने रहेछ । योग पनि र बोल्न पनि । योग सिकाएर गुरु अन्यत्र प्रशिक्षण दिन हिाड्यो । त्यसपछि बल्ल मेरो पात्रको कामको कुरो आयो । टोष्ट र अमलेटपछि कफी खाएर टन्न हुादै हिाड्यो । उसको घरनिर एउटा विशाल खाल्डो बनेको थियो । बिनाप्रयास भास्सिएर । अरू बेला त होइन राति रक्सी धोकेर आउादा खसिएला कि भन्ने डर हुन्थ्यो । साँघुरो बाटो मात्र बाँकी थियो । ऊ दिउासै राम्ररी निरीक्षण गरेर जान्थ्यो, राति कतातिरबाट कसरी आउने हो, खाल्डो जोगाएर । खाल्डोपारि पुगेपछि जहिले पनि किन हो उसलाई एउटा गर्वको अनुभूति हुन्थ्यो । एउटा छोटोमोटो विजय हासिल गरेजस्तो किसिमको । यो चलन महिनौँदेखि यस्तै गरी चलिरहेको थियो । कहिलेकाहीँ जोग्गिादा जोग्गिादा पट्यार मानेर सोच्दथ्यो एकपल्ट खसी हेर्नुपर्‍यो खाल्डोमा । टोलमा कति मानवता बाँकी रहेछ, त्यसको पनि जाँच हुन्छ तर गर्न चाहिा गरेन । सधैा विजयी हुने र वीर हुने भाव नै उसलाई सुखद लाग्यो । जतासुकै हारे पनि, त्यो खाल्डोले कमसेकम मलाई जितेको भाव प्रदान गरिरहेको छ भने मैले आफूले नियम किन उल्लङ्घन गर्ने ?

  यो पात्र प्रेम गर्दैन थियो । त्यसमा उसलाई विश्वास थिएन । उसलाई कुनै रोमाञ्चमा समेत विश्वास थिएन । उसको स्वभावमा पनि कुनै यस्तो कुरा देखिएन, जसले द्वन्द्व वा झगडा वा नेतृत्वमध्ये केही उत्पन्न होस् । ऊ जीवनमा केही नभए पनि आरामसाथ जीवन बाँचिरहेको थियो । यस्तो पात्रबाट के बन्छ लेख्ने ? बलात्कार अथवा शारीरिक अन्य क्रियाकलाप अथवा कुनै किसिमको तरङ्ग केही थिएन । शान्त सरोबर जस्तो जीवनमै ऊ रमाएको थियो । उसलाई जीवनसित कुनै गुनासो पनि थिएन । आठ बजे भात खान बस्दथ्यो । साढे आठ बजे घरबाट निस्किन्थ्यो । बसमा धेरैजसो झुन्डिएर जान्थ्यो । बेलुकी भट्टीमा पस्थ्यो । र्फकंदा पैसा छ भने ट्याक्सी नभए हिाडेरै भए पनि घर पुग्ने आाट राख्दथ्यो । यस्तो जीवनमा के खोजेर लेख्ने ?

  यस्तोमा मैले सोचेँ- पात्र काल्पनिक बनाइदिउँ पूरै । त्यसपछि त्यसबाट जे गराए पनि हुन्छ ।

  एक दिन पात्र आइरहेको थियो । पछिल्तिरबाट आवाज आयो सर । उसले देख्यो छिमेकी रहेछ । त्यसले आएर भन्यो- "सर अब त्यो खाल्डो पुर्न भनेर निकासा आउनै आाटेको छ ।"

  उसले भन्यो- "ए ।"

  त्यस्तो चीसो 'ए' किन भन्यो भने आज ४-५ वर्षदेखि त्यो खाल्डोका लागि उसले कति पटक यसलाई भनिसकेको थियो । यो समाजसेवी भन्थ्यो आफूलाई । कहिल्यै पुरिएन । यता आएर भन्न छोडेको थियो । उसलाई यही खाल्डोले कतै न कतै विजयी बनाइदिइरहेको थियो । यो विजय खोसिने उपाय गरेर ऊ रातप्रति रात पराजित बन्न चाहादैन थियो ।

  खरो त्यो मानिसले आज अचानक त्यति विनम्र वचन कसरी बोल्यो । त्यसमाथि खाल्डो पुर्ने विषय ल्याएर ? पात्र यसमा पो चकित भएको थियो ।

  केही बेर कुरा गरेपछि बल्ल थाहा पायो, ती चुनावका दिन थिए र यो उम्मेदवार बनेर उठेको रहेछ ।

  टोलमा त्यस्तो चलिरहन्थ्यो ।

  हो त्यसैपछि मैले सोचेा, पात्रलाई काल्पनिक बनाउादा त जे लेखे पनि हुन्छ । एक मन त लाग्यो, यसलाई पनि उम्मेदवार बनाइदिउा र लेख्न थालुा तर चुनावका अनेक दाउपेच म आफैालाई थाहा छैन भने त्यो अवास्तविक हुन्छ । एक त मेरो कथा त्यसै पनि मान्यता प्राप्त छैन । त्यसमाथि आफैालाई अवास्तविक लाग्दा त कसरी लेख्नु ?

  लेख्नु त जसरी पनि पर्छ । मेरो कमजोरी नै भइसकेको छ यो । मलाई थाहा छ, यसमा पनि म केही रकम त पाउाछु तर झन् केही नभएको कथा, केही नभएको पात्र लिएर कसरी अघि बढ्नु ? पेनाल्टी पाएको छ तर गोलकिपर छैन रोक्नलाई । यस्तो स्थिति छ मेरो अहिले । झन् कस्तो होला ? यसले पाठकभन्दा अन्य लेखक नै बढी रिसाउने डर छ तर यो मौका त्याग्न पनि सकिादैन । दरिद्रता धेरै शक्तिशाली हुन्छ । त्यसले जति असफल कार्यमा पनि हात हाल्न लगाउाछ । पहिल्यैदेखि ज्ञान असफलतामा समेत ।

  अब जे होला होला । यसै कमजोर उसै कमजोर के एउटा बेकारको, नालायक र जीवनमा लेख्नेलायक केही नभएको पात्रलाई लिएर म लेख्न थाल्दछु ।

  थाल्नुभन्दाअघि एउटा जरुरी सूचना भने अवश्य दिन चाहन्छु । जुन पात्रलाई मैले काल्पनिक भनेा, त्यो वास्तवमा मैा हुा । अब त स्पष्ट भयो होला, यही एउटै पात्र मसाग कसरी बाँकी हुन गयो ? 

  अनि, म स्वयम् पनि त जीवनमा काल्पनिकभन्दा के कम भएको छु र ?

 डा. ध्रुवचन्द्र गौतम  


(मधुपर्कबाट)

Wednesday, July 9, 2008

छोटकरी समाचार

झापाको शान्तिनगरमा प्रहरीले चलाएको गोलि लागेर आज बिहान एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुने झापा जलथल ९ का विश्वपति नेम्वाङ रहेका छन् ।
इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट गस्तिमा गएको प्रहरी टोलीमाथि शान्ति नगरबाट मोटरसाईकलमा आउदै गरेका नेम्वाङले प्रहरीमाथि पेस्तोलले फायरिङ गर्न खोजेपछि प्रहरीले प्रतिकार गरेको थियो ।
प्रतिकारमा प्रहरीले चलाएको गोली लागी उनको घटना स्थलमै मृत्यु भएको हो । घटनाको पुष्टि गर्दै सशस्त्र प्रहरी नायव उपरिक्षक राजेन्द्र श्रेष्ठले आत्मरक्षाका लागि गोली चलाउदा उनको मृत्यु भएको जानकारी दिनुभएको छ ।
मृत्यु हुने महेन्द्र पुलिस क्लबमा कार्यरत प्रहरी नै भएको झापा प्रहरी स्रोतले बताएको छ । तर क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरले भने त्यसको स्वतन्त्र पुष्टि गरेको छैन । घटना धुलावारी बाट ५ किलोमिटर उत्तर जंगलमा भएको हो ।
-------------------------------------------------------------------------------------
घुस लिएर जग्गाधनी पूर्जा बितरण गरेको भन्दै जिल्ला प्रशासन कार्यालय झापाले २ नम्बर नापी कार्यालयमा छापा मारेको छ ।
दमक १३ मा जग्गाधनी पूर्जा बितरण गरी रकम असुलेको भन्दै प्रशासनले छापा मारेको हो । शाखा अधिकृत मणीराम न्यौपानेको नेतृत्वको टोलीले २ नम्बर नापीको दमक स्थीत कार्यालयमा छापा मारेको हो ।
टोलीले स्थानिय अगुवा हाम पाठकको घरमा समेत छापा मारेको छ । छापामार्ने क्रममा कार्यालयका सेबाग्राहीका साथमा कार्यालयको सहिछाप बिनाको २ बटा धनीपूर्जा फेला पारेको शाखा अधिकृत न्यौपानेले बताए ।
भूमीसुधार मन्त्री जगतबहादुर बोगटीको ठाडो आदेशमा दमक १३ का ७ सय परिवारलाइ धनिपुर्जा बितरण गरिएको थियो । बिबाद बढेपछी सोमबारबाट पुर्जा बितरण बन्द भएको थियो ।


Saturday, July 5, 2008

पुरुषले जन्माए सन्तान


ओरेगन/ गर्भवती अमेरिकी पुरुष थोमस बियटीले आइतबार छोरी जन्माएका छन् । बियटीले ओरेगनको बेन्ड अस्पतालमा छोरी जन्माएका हुन् । अस्पतालका अनुसार 'बाबु' र छोरीको स्वास्थ्यस्थिति राम्रो छ । 
छोरीको रूपमा जन्मिएका ३४ वर्षे बियटी दस वर्षअगाडि कानुनीरूपमा लिंग-परिवर्तन गरेर पुरुष बनेका हुन् । तर उनले बच्चा आफै जन्माउन चाहेकोले प्रजनन अंग भने फेरेका थिएनन् । 
'मेरो विचारमा सन्तान जन्माउने महिला वा पुरुष आवश्यकता होइन । यो मानव आवश्यकता हो,' ओपरा विलपि|mक शोमा अन्तर्वार्ता दिँदै बियटीले भनेका थिए । 
अरूको वीर्यको सहयोगमा उनी गर्भवती बनेका हुन् । छोरीले कसलाई आमा भन्नेमा कुनै अन्योल नरहेको उनी बताउँछन् । 'म छोरीको बाउ हुनेछु र मेरी श्रीमती आमा,' आमा बन्नुभन्दा केही दिनअघि उनले भने । छोरीको पहिलो तस्बिर बेचेर यी जोडीले पाँच लाख पाउन्ड पाउने अनुमान गरिएको छ । 


Thursday, July 3, 2008

दमक क्षेत्रका छोटकरी समाचार

विभिन्न अपराधमा संलग्न तीन जना झापाको दमकबाट पक्राउ परेका छन् ।
रात्रि गस्तीको क्रममा प्रहरीले गएराती दमकका अलग अलग स्थानबाट झापा कोरोवारी १ वलबहादुर बराल, दमकको बेलडा“गी शिविर २ का यामु गिरी र दमक १३ का अर्जुन कटुवाल लाई पक्राउ गरेको हो ।
उनीहरु सबै चोरी, लुटपाट लगायत र्सार्वजनिक अपराधमा संलग्न रहेको प्रहरी निरिक्षक गोविन्दराज काफ्लेले बताए ।

सरकारको इजाजत बिना मेनपावर संचालन गरेको अभियोगमा झापाको दमकबाट पक्राउ परेका ११ जनालाई तेस्रो पटक म्याद थप गरि हिरासतमा राखिएको छ ।
दमकमा विभिन्न मेनपावर कम्पनीको कन्सल्टेन्सी खोलेर बसेका उनीहरु गत असार ५ गते पक्राउ परेका थिए ।
इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरिक्षक गोविन्दराज काफ्लेले आज म्याद थप गरेर सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको बताए । पक्राउ परेकालाइ आफू“ले ठगि नगरेको प्रमाण पेश गर्न समय दिन म्याद थप गरिएको प्रहरीले जनाएको छ । संचालनका लागि झापामा दुइवटा बाहेक अन्य मेनपावरले सरकारको इजाजत लिएका छैनन् । विकृति र ठगि बढेको पाईएपछि स्थानिय प्रशासनले कर्डाई गर्न शुरु गरेको हो ।

दमक न.पा.का दुइ वटा वडामा सात महिना देखि अबरुद्ध टेलिफोन सेवा सुचारु गर्न काम शुरु भएको छ ।
नेपाल टेलिकमको दमक कार्यालयले टेलिफोनको तार चोरी भई अबरुद्ध बनेको लाईन सुचारु गर्न वडा नं ८ र १६ मा काम शुरु गरेको हो ।
ती वडामा जमिन मुनीबाट केवुल विच्छाउने काम भई रहेकोे टेलिकम दमकका प्रमुख अर्जुनकुमार घिमिरेले बताए ।
स्थानिय चियाबगान क्षेत्रमा बारम्वार टेलिफोन केबुल चोरी हुँदा ती वडाका ८४ लाईन टेलिफोन अबरुद्ध थिए । स्थानिय माधव सिटौलाले तार विच्छाउने कार्यमा स्थानियवासीले पनि काम गरि रहेको बताए ।

बैदेशिक रोजगारीमा लगिदिने बाहनामा ठगिएका झापा दमक १० का ज्ञानेन्द्र नेम्वाङले न्यायका लागि प्रहरीको ढोका घच्घच्याएका छन् ।
दमकमा केही समय पहिले खुलेको नुमाफुङ कन्सलटेन्सीका प्रतिनिधी नरेन्द्र नेम्वाङले आफूलाई ठगि गरेको दाबी गर्दै उनले प्रहरी समक्ष उजुरी गरेका हुन् ।
अफगानिस्तान लगिदिने भन्दै आफू“ बाट लिएको २ लाख १० हजार रुपैयाँ नेम्वाङले फिर्ता नगरेको व्योहोरा उनले प्रहरी समक्ष गरेको उजुरीमा उल्लेख छ ।
अफगानिस्तानमा नेपाल सरकारले बैदेशिक रोजगारीको इजाजत दिएको छैन् ।
झापाको दमक १५ स्थित प्रगति टोल विकास संस्थाको विहिवार भएको वाषिर्क साधारण सभाले नया“ कार्य समिती चयन गरेको छ ।
श्रीमती हिरा श्रेष्ठ अध्यक्ष, सृजना गुरागाई सचिव र लिला सिम्खडा कोषाध्यक्ष रहेको नयाँ कार्य समिती चयन भएको हो ।
उनन्तीस घर धुरी सदस्य रहेको त्यो टोल विकास संस्थाले हालसम्म ४३ हजार रुपैया“ वचत कोष खडा गरेको दमक नगरपालिकाकी सामाजिक परिचालिका लक्ष्मी बरालले जानकारी दिएकी छन् ।
त्यो टोल विकास संस्थामा आदिवासी र जनजाति सदस्यको बाहुल्यता रहेको उनले बताइन् ।
(साथी कुमारको सहयोग)

धानको मूल्य कम हुँदा कृषक मर्कामा

धानको उचित मूल्य नपाएपछि झापाली कृषकहरु मर्कामा परेका छन् । वर्षातको समयमा लगाइने धानको मुल्यमा कमी भएपछि खेतमा लगाइएको बाली थन्काएर बस्नुपरेको कृषक कृष्ण पाखरेलले बताउनु भयो । 

झापाका ग्रामिण भेगका अधिकांस कृषकहरु धानको मुल्यमा भएको गिरावट प्रति आक्रोशित भएका छन् । चैत्र र बैशाख महिनामा लगाइने माला, बिजी, चैते ४ लगायतका धानको बजार मुल्य अत्यन्त कमी भएको किसानहरुको दावी छ । 

हप्ता दिन अघि ४ सय रुपैयाँ मन रहेको धानको मुल्य अहिले बजारमा ३ सय रुपैयाँ मन रहेका छ ।

Tuesday, July 1, 2008

धार्मिक पर्यटकीय स्थल बन्दैछ माङसेबुङ

किराँत धर्मावलम्बीहरूको बसोबास रहेको इलामको बाँझोस्थित माङसेबुङ धार्मिक पर्यटकीयस्थलको रूपमा विकास हुँदैछ। माङसेबुङ बाँझो गाविसको वडा नम्बर आठ र नौमा रहेको छ। त्यस क्षेत्रभित्र लासिङबुङ, लारूम्बा, सेनेला, भालुटार, मिक्तोक्लाजस्ता गाउँहरू पर्छन्। किराँत धर्म र संस्कृतिका सुधारक एवं प्रचारक फाल्गुनन्द लिङ देनका अवतार मानिएका आत्मानन्द लिङ देन २०३४ सालदेखि त्यस क्षेत्रमा बस्न थालेपछि यसको चर्चापरिचर्चा बढ्दै गएको हो। किराँत चोलुङ माङगेना सेवा समितिका अध्यक्ष केहेरसिंह योङ हाङ का अनुसार अहिले माङसेबुङ क्षेत्रमा करिब नौ हजार किराँत धर्मावलम्बीहरू बसोबास गर्छन्। उनीहरूमध्ये ९० प्रतिशत लिम्बू र अन्यचाहिँ राई, गुरूङ, मगर समुदायका छन्। माङसेबुङ आत्मानन्द लिङ देनलाई धर्मगुरू मान्ने धर्मावलम्बीहरूको प्रमुख आकर्षणको केन्द्र हो। यसका अलावा किराँत धर्मसंस्कृतिको अध्ययन गर्ने अनुसन्धानकर्ताहरूका लागि पनि अध्ययन र अनुसन्धान थलो बन्दैछ। 'यहाँको रहनसहन र किराँत धर्मप्रतिको आस्थाका बारेमा अध्ययन गर्न विभिन्न क्षेत्रबाट मानिसहरू आउने गर्दछन्,' स्थानीय नन्दकुमार नेम्बाङ ले बताए। किराँत अर्थात् जनजाति भन्नासाथ मधपान र मांसाहार गर्ने समुदाय भनेर चिनिन्छ। तर, माङसेबुङमा कसैले पनि धूमपान, मधपान र मांसाहार गर्दैनन्। किराँत धर्म र संस्कृतिका सुधारक फाल्गुनन्द लिङ देनको विचारलाई आत्मसात गर्दै गाउँमा कसैले पनि धूमपान, मधपान र मांसाहार नगरेको स्थानीय सेसेहाङ फियाकले बताए। सो क्षेत्रमा रहेको सरस्वती प्रस्तावित माध्यमिक विधालयका प्रधानाध्यापक मुक्तिहाङ साम्बाले माङ सेबुङ मा कसैले पनि जाँडरक्सी नखाने भएकाले आपसमा कहिल्यै झगडा नभएको बताए। जाँडरक्सी, चुरोट, खैनी र मासु नखानाले स्थानीयवासीले कम खर्चमा घरव्यवहार चलाउने गरेको पनि उनले जनाएका छन्। 'राई, लिम्बूहरूको धेरै खर्च जाँडरक्सी र मासुमा हुने गर्छ। त्यसैले यहाँको परिवारको घरखर्च कम छ। विवाह, मृत्युसंस्कार पनि कम खर्चमा सकिन्छ,' उनले भने। त्यस क्षेत्रका धर्मावलम्बीहरूको जन्म, विवाह, मृत्युजस्ता संस्कार अन्यत्र बसोबास गर्ने किराँतहरूको भन्दा फरक छ। मांसाहार नहुनाले माङसेबुङमा कसैले पनि सुँगुर, कुखुरा पाल्दैनन्। त्यसो त त्यहाँका स्थानीयवासीहरू जुवातास, डाइस, क्यारेमबोर्ड, लुँडो र चेस पनि खेल्दैनन्। फाल्गुनन्द लिङ देनको जन्मजयन्ती कात्तिक २५ गते, धर्मगुरू आत्मनन्द लिङदेनको जन्मोत्सव मंसिर १८ गते र धर्मगुरूकी श्रीमती पवित्रहाङमा लिङ देनको जन्मोत्सव माघ ३ गते र चासोक तङ नाम (न्वागी पर्व) का बेलामा माङसेबुङ क्षेत्रमा किराँत धर्मावलम्बीहरूको भीड लाग्ने गर्छ। त्यसबेला नेपालका विभिन्न ठाउँबाट तथा भारत, भुटानलगायतका देशबाट पनि भक्तजनहरू आउने गर्दछन्। यस्ता उत्सव तथा पर्वका बेला अधिकांशले सेतो रङ को परम्परागत पोसाक लगाएका हुन्छन्। यस्तो परम्परागत पोसाकलाई तागा (पुरूषले लगाउने) र मेख्ली (महिलाको) भनिन्छ। माङसेबुङमा 'मुन्धुम' पढाइ हुने पाठशाला रहेको छ। यस्तो पाठशाला नेपालमा अन्यत्र छैन। त्यसो त उनीहरूले अंग्रेजी माध्यममा पढाइ हुने निजी विधालयहरू पनि खोलेका छन्। धर्मावलम्बीहरूले जनश्रमदान गरेर माङसेबुङ क्षेत्रमा डाँडावरिपरि पाँच किलोमिटर लामो रिङ रोड (चक्रपथ) पनि खनेका छन्। चक्रपथभन्दा माथिल्लो क्षेत्रमा माङहिम (किराँतमन्दिर) र धर्मगुरूको आश्रममात्र रहेको छ। मानिसहरूको बसोबासचाहिँ चक्रपथभन्दा मुनि रहेको छ। माङसेबुङ इलाम सदरमुकामदेखि १५ कोस दक्षिणमा पर्छ। तर, झापाको दमकबाट २१ किलोमिटर लामो कच्च्ची सडक पार गरेपछि यस ठाउँमा पुगिन्छ। माङसेबुङलाई नेपालकै प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बन्न सक्ने प्रशस्त सम्भावना रहेको भन्दै किराँत चोलुङ अंसिमाङगेना सेवा समितिले चाहिँ सरकारसँग शिक्षा, स्वास्थ्य, खानेपानी, सडक र सञ्चारजस्ता आधारभूत पूर्वाधार तयार गरिदिनुपर्ने बताउँदै आएको छ। 'यो किराँतहरूको मात्र सम्पत्ति होइन, राष्ट्रकै सम्पत्ति हो,' अध्यक्ष केहेरसिंह योङहाङले भने।