पहिलो घटनाका बारेमा उल्लेख गर्दा जागीरको शिलशिलामा सुनसरीको इनरूवामा रहँदा बुवाले अनुभव गर्नु भएको कुरा, जुन उहाँले त्यतिबेलै घरमा आएर हामीलाई सुनाउनु भएको थियो । यो घटना २०४५ सालको थियो । त्यो वेला बुवा तत्कालिन जिल्ला सहकारी संघ सुनसरीमा ताप्लेजुङबाट सरूवा भएर आउनु भएको थियो ।
त्यहाँ बसाइको क्रममा एक साँझ बुवाकै एकजना कर्मचारी साथीकी श्रीमती अचानक पेट दुखेर विरामी भइछन् ।
निक्कै दुखेर रूने चिच्याउने गर्दै धामी बोलाउन भनिछन् । तर त्यहाँ वरिपरीका छिमेकी सवै
बाहिरी ठाउँहरूबाट गएका कर्मचारीहरू र उनीहरूका परिवार मात्र भएकाले सवै रनभूल्लमा परेछन्, को र कहाँबाट धामी बोलाउने भनेर । त्यत्तिकैमा बुवाले धामी विद्या मैले जानेको छु भनिदिनु भएछ । उहाँले त्यसो भनेपछि त्यहाँ भएका सवैलाई "के खोज्छस् कानो आँखा" भने झैं भएछ ।
त्यसपछि बुवाले हातमा अलिकति चामल लिएर मन्त्र फलाक्दै ती विरामी महिलालाई चामलले पर्सिंदै गर्नु भएछ । केहीबेर त्यसो गरेपछि ती महिला निको भइछन् ।
वरिपरि भेला भएका साथीहरूले बुवालाई अचम्म मान्दै सोधेछन्, "तपाईं धामी पनि हो र !"